यसकारण काठमाडौंमा सुक्खा बन्दरगाह

यसकारण काठमाडौंमा सुक्खा बन्दरगाह
लक्ष्मणबहादुर बस्नेत कार्यकारी निर्देशक, नेपाल इन्टरमोडल यातायात विकास समिति

सरकारले काठमाडौाको चोभारमा रहेको हिमाल सिमेन्टको जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल र ‘कन्टेनर फ्रेट स्टेसन’ बनाउने घोषणा गरेको छ । सो परियोजनामा लगानी गर्ने निर्णय गरेको विश्व बैंकले यसलाई सुक्खा बन्दरगाहकै रूपमा निर्माण गर्नुपर्ने बताएको छ । परियोजना निर्माणको जिम्मेवार निकाय नेपाल इन्टरमोडल यातायात विकास समिति हो । विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले निर्माणको प्रारम्भिक चरणका काम भइरहेको बताए । उनले काठमाडौंमा सुक्खा बन्दरगाहको आवश्यकता यसरी औाल्याए :

नेपालमा व्यापारको परिमाण ज्यादै बढिरहेको छ । यो व्यापार उपत्यका केन्द्रित छ । हालको आयात अवस्थालाई हेर्ने हो भने सबै नाकाबाट अधिकांश वस्तु काठमाडौं नै आउँछन् । भारतसँग सीमा जोडिएका तराईका विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्जलगायतका सबै भन्सार नाकाबाट सामान काठमाडौं नै आउँछन् । आयात गरिने अधिकांश सामग्रीको उपभोग हुने ठाउँ काठमाडौं नै हो ।
काठमाडौंमा धेरै सामान आउने भएपछि स्वाभाविक रूपमा यहाँ सुक्खा बन्दरगाहको आवश्यकता छ । चोभारमा रहेको हिमाल सिमेन्टको जग्गामा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ । सुक्खा बन्दरगाह बनाउन सकियो भने यहाँबाट निर्यात गर्ने सामान जम्मा गर्ने हब पनि हुनेछ । अर्थात् सुख्खा बन्दरगाह आयात र निर्यात दुवैको हब बन्नेछ ।

अहिले दक्षिणतर्फका नाका प्रयोग गरी कोलकाताबाट मात्रै नेपाल सामान भित्रिन्छन् । निकट भविष्यमै हल्दिया बन्दरगाह खुला गर्दै छौँ । वीरगन्ज, विराटनगर, भैरहवामा सामान आयात–निर्यातको अवरोध निवारण गर्न काठमाडांैको सुक्खा बन्दरगाह विकल्प बन्न सक्छ । भारतसँगको व्यापारका लागि ‘वान टाइम लक सिस्टम’ लागू हुँदैछ । कलकाताबाहेक भिसाखापट्टनं पनि खुल्नेमा आशावादी छौँ । यो मार्गबाट आउने सामानलाई सीधै काठमाडौंको सुक्खा बन्दरगाहमा ल्याउन सकिन्छ । वीरगन्जमा भन्सार जाँचपास गर्नु नपर्ने गरी ‘वान टाइम लक सिस्टम’मार्फत सीधै काठमाडौंमा सुक्खा बन्दरगाहमा ल्याउन सकिन्छ । काठमाडौं आइपुगेपछि भन्सार, क्वारेनटाइनलगायतका जाँसपास एकै थलोबाट गर्न सक्छौँ । यही परिकल्पनासाथ हामी काम गरिरहेका छौँ ।
कोलकताबाट काँकडभिट्टा, विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्ज हुँदै आउने सामानलाई आगामी दिनमा काठमाडौं गन्तव्य बनाउन सकिन्छ । जसले गर्दा ती नाकाबीचमा विभिन्न निकायबाट सामान आयत गर्दाका गैरभन्सार अवरोध स्वत: न्यूनीकरण हुँदै जानेछ । यसबाट हाम्रो व्यापारको लागत र समय दुवै न्यून हुन्छ । काठमाडौंमा बन्ने बन्दरगाहको मुख्य उद्देश्य नै यही हो । चौभारमा ठूलो क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुक्खा बन्दरगाह बन्नेछ । जहाँ भन्सारसँग सम्बन्धित सम्पूर्ण कार्यालयसहित पर्याप्त पार्किङको सुविधा हुनेछ । यसले आयात–निर्यातलाई सहज बनाउनेछ ।

व्यापारको प्रमुख उद्देश्य समय र लागत घटाउने हुन्छ । यो दुवै तत्वलाई घटाउनेबित्तिकै हाम्रो प्रतिस्पर्धी क्षमता बढ्छ । निर्यात गर्ने क्षमताको लागत घट्छ । यसले गर्दा विदेश निर्यात हुने सामग्रीसँग प्रतिस्पर्धा गर्न सकिन्छ ।
त्यस्तै, अहिले आन्तरिक उत्पादनका लागि अर्डर गरिएका कच्चा पदार्थ समयमा आउन सकिरहेका छैनन् । आयात गरेर ल्याएका कच्चापदार्थ विभिन्न भन्सार कार्यालयका टर्मिनलबाट सहज रूपमा आउन नसक्दा विलम्ब शुल्क, जरिवानालगायत तिर्नुपर्ने बाध्यता छ । सीधै कोलकाता या भिशाखापट्टनंबाट काठमाडौं उतार्न सक्यौँ भने आयातको लागत र समय घटाउन सकिन्छ । यसले गर्दा निकासीजन्य पदार्थको मूल्य घट्छ । र, विदेशमा प्रतिस्पर्धी क्षमताको विकास हुन्छ । हामीेले उपभोग र निकासी गर्ने दुवैको लागत तथा समय घट्छ ।

सरकारले अहिले उत्तर–दक्षिण जोड्ने नाकालाई प्राथमिकता दिँदै सडकलगायतका पूर्वाधार निर्माणका काम अगाडि बढाइरहेको छ ।
चीनसँगका उत्तरी नाकातर्फ पूर्वाधार बनाउन सुरु भइसकेको छ ।
उत्तरतर्फका नाकामा सामग्री आयात–निर्यातका लागि प्रयोग हुने ट्रक/कन्टेनर पार्किङका लागि पर्याप्त ठाउँ छैन । यो समस्यालाई सबैले बुझेका छन् । नाकासम्म पुग्ने पूर्वाधार बनिरहेका छन् । तर, सञ्चालनमा रहेका तातोपानी र रसुवागढी नाकामा पार्किङका लागि पर्याप्त ठाउँ नै छैन । रसुवामा सुक्खा बन्दरगाह बनाउने सरकारी जग्गाले मात्रै नपुगेर निजी जग्गासमेत अधिग्रहण गरिरहेका छौँ ।
अर्कातिर काठमाडौं उपत्यकामा आउने मालबाहक गाडीका लागि पार्किङस्थल नै छैन । त्यसैले सरकार र व्यवसायीका तर्फबाट कम्तीमा पनि कन्टेनर पार्किङ गर्ने ठाउँको अभाव महसुस भइरहेको छ । त्यसपछि काठमाडौंमा पनि सुक्खा बन्दरगाह बनाउने प्रक्रिया सुरु भएको हो । सुरुमा काभ्रेको पाँचखालमा बनाउने चर्चा चल्यो । जग्गा खोज्दै जाँदा काठमाडौंमा फेला परेपछि सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत नै समेटिएको छ ।
सरकारले चोभारमा रहेको हिमाल सिमेन्टको जग्गा पनि लिइसकेको छ । अहिले यसलाई पार्किङस्थललका रूपमा भन्दा फरक दृष्टिले हेर्न थालेका छौँ । निर्माणका लागि विश्व बैंकले १ करोड ५५ लाख अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । लगानी सम्झौता पनि भइसकेको छ । विश्व बैंकले अहिले यस परियोजनालाई कन्टेनर पार्किङस्थलभन्दा माथि उठेर सुक्खा बन्दरगाह निर्माण गर्ने पक्षमा गएमा लगानी गर्न तयार भएको वचन दिइसकेको छ । उसले यसलाई सुक्खा बन्दरगाह नै बनाउने भनेर लेखेरै दिएको छ ।

चोभारमा सुक्खा बन्दगाह निर्माणका लागि निकै समस्या छ । समस्यालाई चुनौतीका रूपमा लिएर अगाडि बढिरहेका छौँ । चोभारको जग्गा सबै क्षेत्रको सक्रिय पहलमा अधिग्रहण गरिसकेका छौँ । विगतमा हिमाल सिमेन्टको नाममा रहेको जग्गाको लालपुर्जा सरकारको नाममा आइसकेको छ । बन्दरगाह निर्माणका लागि लगानी समस्या थियो । विश्व बैंकले लगानीको प्रतिबद्धता जनाइसकेको छ । विश्व बैंकले अगामी मार्चभित्र निर्माणस्थलमा रहेको हिमाल सिमेन्टको संरचना हटाएर जग्गा खाली गर्नुपर्ने समयसीमा दिएको छ ।
त्यो समयभित्र जग्गा खाली गर्ने जिम्मेवारी एनआइडिसी विकास बैंकले लिएको छ । तर, यो समयभित्र सिमेन्ट उद्योगका सबै संरचना हटाएर खाली गर्न चुनौती नै छ । हाम्रोतर्फबाट भने १/२ साताभित्रै निर्माणका लागि सर्वे डिजाइन, वातावरणीय अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया सुरु गर्नेछौँ । विश्व बैंकका मापदण्डअनुसारका वातावरणीय तथा सामाजिक अध्ययन गरिनेछ । निर्माणका लागि स्थानीयको सहमति पनि आवश्यक भएकाले राजनीतिक दल, नागरिक समाजलगायत सरोकारवालासँग छलफल गर्नेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*